टाउकोको मूल्य ५९ करोड तोकिएका सिराजुद्दिन बने अफगानिस्तानको गृहमन्त्री
दोस्रो पटक तालिबानले अफगानिस्तानमा मंगलबार साँझ औपचारिक रूपमा आफ्नो सरकार घोषणा गरेको छ ।
तीमध्ये एक जनाको नाम र उनले पाएको जिम्मेवारी सुन्दा अमेरिका र विश्व नै आश्चर्यमा पर्नेछन् ।
त्यो नाम हो– सिराजुद्दिन हक्कानी । उनी तालिबान सरकारमा गृहमन्त्री बनेका छन् । उनी ती व्यक्ति हुन्– जसको टाउकोमो मूल्य अमेरिकाले ५० लाख डलर (नेपाली रुपैयाँ झण्डै ५९ करोड २० लाख) घोषणा गरेको छ ।
सिराजुद्दिन र उनका पिताले सन् २००८ मा काबुलमा भारतीय दूतावासमा पनि आक्रमण गरेका थिए । जसमा ५८ जना मारिएका थिए । सन् २०११ मा अमेरिकाको ज्वइन्ट चिफ्स अफ स्टाफका जनरल रहेका माइक मुलेनले हक्कानी नेटवर्कलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई को दाहिने हात भनेका थिए ।
२० वर्षे अफगान द्वन्द्वका प्रमुख घटनाक्रम
सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला
सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा
सन् २००९ फेब्रुअरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो
सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित
सन् २०२० फ्रेबुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा ‘शान्ति ल्याउने सम्झौता’ मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता
सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा
सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल
सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा