हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि विराटनगरमा मङ्गलबार पनि प्रदर्शन भएको छ । गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको मृत्यु भएपछि आफन्तहरूले विराटनगरको जलजला मोडमा प्रदर्शन गरेका हुन् ।
मङ्गलबार जलजला मोडमा साङ्ले जुलुस निकालेर सवारीसाधन आवागमन बन्द गराउँदै प्रदर्शन गरिएको थियो । जलजला मोडमा केही समय प्रदर्शन गरेपछि उक्त टोली भट्टी मोडतर्फ लागेको थियो ।
यसअघि सोमबार आफन्त र स्थानीयले जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका थिए । आइतबार साँझबाट प्रहरीको विरुद्धमा उत्रिएका कामतका परिवारजन, आफन्त र छिमेकीले अस्पतालबाट शव नबुझी सोमबार (आज) जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र प्रहरी दोषी देखिए उनीहरूलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
प्रहरीले गत शुक्रबार कामतलाई उनकै घरबाट तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो । कामत जनपथ मार्गमै नास्ता पसल सञ्चालन गर्थे । कामतको आइतबार दिउँसो मृत्यु भएको थियो । मृतक कामतको खुट्टामा गम्भीर चोट छ । प्रहरीले यातना दिएर मारेको दाबी गर्दै आफन्त र स्थानीयले शव नबुझी प्रदर्शन गरेका हुन् । प्रहरीको यातनाका कारण मृत्यु भएको बनाउँदै मृतककी भाउजु मीनादेवी कामतले भनिन्, ‘मेरो देवरलाई चरम यातना दिएर हत्या गरिएको छ । हामीलाई तपाईँको मान्छे आइसियुमा छ भनेर बोलाइएको थियो । हेर्न जाँदा मरिसक्यो भन्छ । प्रहरीले यसरी मान्छे मार्न पाउँछ ?’
कामतको मृत्यु प्रकरणको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले सहायक जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा सहायक जिल्ला अधिकारीबाहेक डिएसपी, इन्सपेक्टर, विराटनगर ११ र १२ का वडाध्यक्ष र कामतको घर नजिकका छिमेकी छन् ।
प्रहरी हिरासतमा बिरामी मात्र भएको र मृत्यु कोसी अस्पतालमा उपचारका क्रममा भएको दाबी प्रहरीले गरिरहँदा सर्वपक्षीय छलफलमा सहभागी भएका कामत पक्षका धुव्रराज कोइरालाले भने प्रहरीले कामतको मृत्यु हिरासतमा नै भएको स्वीकारेको बताएका छन् ।
तर मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने सो कुरा सत्य नभएको बताएका छन् । मृत्यु अस्पतालमा नै भएको र घटनाक्रमबारे सम्पूर्ण जानकारी हिजो नै सार्वजनिक गरिसकेको उनले बताएका छन् ।