राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षहरूले आज संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तबरले स्वदेश फर्काउन सरकारसमक्ष माग गरेका छन् ।
अध्यक्षत्रय पशुपति शमसेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको वक्तव्यमा तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षावारे राप्रपा चिन्तित रहेको बताइएको छ ।
उनीहरूले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
साथै उनीहरूले बेलायती सेनामा काम गर्ने नेपालीहरु माथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य गर्न माग गरेका छन् ।
आइतबार जारी गरिएको वक्तव्यमा भनिएको छ “विगतमा पनि ब्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ । यसै पृष्ठभूमीमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ ।”
साथै, ति मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति उक्त पार्टिले नेपाल सरकारको ध्यान आकर्षित समेत गरेको जनाएको छ ।