झुटो विवरण पेस गरी नेपालको जन्मसिद्ध नागरिकता लिएका एक भारतीय नागरिकलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । उच्च अदालत विराटनगरले नेपाली नागरिकता लिने भारतीय नागरिक अनिरुद्र भनिने अनिरुद्ध शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत सुनसरीको आदेशबाट धरौटीमा छुटेका उनलाई मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश किरणदेवी गुप्ताको संयुक्त इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश जारी गरेको छ ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार अभियुक्त शर्माले २०६३ माघ ७ गते सुनसरीको साविकको दुहवी ६ बाट जन्मसिद्ध नागरिकता लिएकोमा उनीविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा परेको थियो । सो मुद्दाको सुनुवाइ गर्दै सुनसरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले शर्मालाई गत जेठ १६ गते ६० हजार रुपैयाँ धरौटीमा रिहा गरिदिएको थियो ।
तर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (२) ‘ख’ बमोजिम १ वर्षभन्दा बढी कैद सजाय हुनसक्ने मुद्दाका विदेशी अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने कानूनी प्रावधान उल्लङ्घन हुन गई जिल्ला अदालतको आदेश बेरितको ठहर भएकाले उच्च अदालतले बदर गरिदिएको हो ।
सूचना अधिकारी सुवेदीका अनुसार उच्चबाट जिल्लाको आदेश बदर गर्दै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्न सुनसरी अदालतका नाममा आदेश जारी भएको छ । झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएका विदेशी नागरिकलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।
शर्माले नागरिकता वितरण टोलीमार्फत् ०३३००९/३२५ नम्बरको नेपाली नागरिकता लिएका छन् । उनको एसपीजे ०२३९३३५ नम्बरको भारतीय मतदाता परिचयपत्र पनि छ । भारतीय मतदाता परिचयपत्र भएका उनले झुटो विवरण पेश गरेर तत्कालीन नागरिकता वितरण टोलीका प्रमुख पुण्यराज भट्टराईबाट नागरिकता बनाएका थिए ।
विदेशी नागरिकलाई झुठा विवरणको आधारमा नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।