मोरङको केराबारी गाउँपालिकाबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । मङ्गलबार साँझ केराबारी–९ देवीझोडाबाट प्रहरीले सोही स्थानका ५१ वर्षीय गणेशकुमार लिम्बू र बेलबारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा हिजो साँझ ५:३० बजेतिर गणेश लिम्बूको घरमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो । सोक्रममा भान्सा कोठाबाट कटुवा पेस्तोल थान–१, ३०३ राईफलको गोली थान–५, गोली लोड गर्ने चाचर थान–२, पेस्तोलको गोली थान–१ फेला परेको थियो ।
यस्तै, बेलबारीका पदमकुमार लिम्बूको घरको आँगनमा पार्क गरेको को १ च ८३६८ नं को कारमा खुकुरी थान–१, चक्कु थान–१ समेत फेला परेको थियो । हातहतियारसहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट हातहतियार तथा खरखजना कसुरमा थप अनुसन्धान गरिरहेको छ ।