मोरङको रङ्गेली नगरपालिका र सुनवर्षी नगरपालिबाट दुई युवतीसहित होटल सञ्चालकहरू पक्राउ परेका छन् । होटलमा राखेर युवतीलाई यौन कार्यमा संलग्न गरेको आरोपमा इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले रङ्गेली र डाइनियाबाट दुईजना होटल सञ्चालकलाई युवतीसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–५ आमगाछीस्थित दीपा होटलका सञ्चालक अजय मण्डल र सुनवर्षी नगरपालिका–९ डाइनियास्थित समारु होटलका सञ्चालक समारु दास रहेका छन् ।
केही समय अघिदेखि होटलमा युवतीलाई राखेर यौन कार्यमा संलग्न गराएको आशङ्कामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचना पाएपछि पुगेको प्रहरीले युवतीसहित मण्डल र दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका कार्यालय प्रमुख अनमोल खड्काले जानकारी दिए ।
‘स्थानीयको सूचनापछि हामीले चारै जनालाई पक्राउ गरेका हौँ’, उनले केटिएम दैनिकसँग भने, ‘युवतीचाहिँ अन्य जिल्लाका रहेछन् । हामीले उनीहरूलाई उद्धार गरेका छौँ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान गरिरहेका छौँ ।
प्रहरी स्रोतका अनुसार मण्डलले ती युवतीलाई कहिलेकाहीँ घरमै लगेर राख्ने गरेका थिए । मण्डल नेकपा माओवादी केन्द्रका कार्यकर्तासमेत हुन् । यसैले मण्डल र दासलाई छाड्न माओवादी केन्द्रका विभिन्न नेता र स्थानीय जनप्रतिनिधिको दबाब आइरहेको प्रहरी स्रोतको दाबी छ ।