नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।
‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।
यसअघि बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।
‘म दावी गर्ने पक्षमा छु,’ उनले भनेका थिए, ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए । तर उनीहरु पुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेर प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गरेका हुन् ।