प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना नियन्त्रणका लागि प्रदेश १ का सबै जिल्लालाई पाँच लाख दिइने बताएकी छन् । बुधबार प्रदेश १ का स्थानीय तहका प्रमुख–उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, स्वास्थ्य कार्यालयका प्रमुखहरूलगायतसँग गरिएको भर्चुअल बैठकमा उनले यस्तो बताएकी हुन् ।
बैठकमा उनले स्वास्थ्य कार्यालयहरूलाई कोरोना सङ्क्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले सबै जिल्लाहरूमा रकम पठाइने तयारी भइरहेको जानकारी दिइन् । प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवश्यक रहेको बताएकी छन् ।
कोरोना संक्रमणको समयमा जिल्लास्तरमा रहेका अस्पतालहरूलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताइन् । कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरूले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनमा जोड दिइन् ।
मन्त्री राईले भनिन्, ‘जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाडौँ, विराटनगर धाउनु नपरोस् ।’ उनले स्थानीय तह तथा जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रणका लागि अहोरात्र खट्ने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरु लगायतलाई धन्यवाद र्दिन् ।
बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, स्वास्थ्य कार्यालयका प्रमुखहरूले कोरोना सङ्क्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।