खोटाङमा भरुवा बन्दुक र जनवारको अङ्गसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिक रहेका छन् ।
शनिबार राति प्रहरीले खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्रीसहित उनीहरूलाई पक्राउ गरेको छ ।
गत राति १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकसहित खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले डम्बर, दोर्ण र रविन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रालगायतका पदार्थहरू सहित नियन्त्रणमा लिएको हो ।
यस्तै बिकलाई भने भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरूसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।