अस्पतालहरूमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरपालिले भने अस्पताल बराबरको आइसोलेसन वार्ड निर्माण गरेको छ । विराटनगर–१ स्थित भट्टा चोकमा रहेको आरआरएनको सभाहलमा ५१ बेडको अत्याधुनिक आइसोलेसन वार्ड निर्माण भएको हो ।
यो आइसोलेसन वार्ड निर्माणमा विराटनगर महानगरका मेयर भीम पराजुलीको विशेष सक्रियतामा रहेको छ । आइसोलेसन आइतबार (भोलि)बाट सञ्चानलमा आउने मेयर पराजुलीले जानकारी दिए ।
उनका अनुसार मानिसहरूको जीवन रक्षा गर्ने उद्देश्यका साथ स्वास्थ्यकर्मीसहित अक्सिजनको व्यवस्था गरिएको छ । त्यसबाहेक आइसोलेसनमा स्वास्थ्यकर्मीहरूद्धारा मनोपरामर्शसमेत दिइने छ । मानिसको जीवन रक्षा गर्ने प्रमुख योजनासहित हरसम्भव प्रयासमा जुटिरहेको पराजुलीले बताए ।
यो कार्यमा आरएनएनका विराटनगर प्रमुख अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर सेवा प्रवाहमा योगदान गरेका छन् । आइसोलेसन निर्माणले पूर्णता पाएसँगै शनिबार मेयर पराजुलीसहित मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, वडा नं.१ का वडाध्यक्ष उद्धव अर्याल, स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीलगायतले अनुगमनसमेत गरेका छन् ।