मोरङको कानेपोखरीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी महिलाको पहिचान नौ वर्ष पुग्दा पनि खुलेको छैन । २०६९ साल चैत २२ गते हत्या गरी फालिएको अवस्थामा भेटिएकी महिलाको पहिचान अझै नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कानेपोखरी गाउँपालिका–७ मा पर्ने जङ्गलमा राति पहिचान नखुल्ने अवस्थामा महिलाको हत्या गरी शव फालिएको थियो । कानेपोखरीबाट रङ्गेलीतर्फ आवत–जावत गर्ने कच्ची सडक बाटोको पूर्वपट्टिको किनार जङ्गलमा कम्मरदेखि मुनिको भाग नाङ्गो, अनुहार कुचिएको र उत्तानो अवस्थामा शव फेला परेको थियो ।
उचाई ५ फिट ३ इन्च, वर्ण गहुँगोरी, पेटमा सेतो धर्सा देखिने, सेतोमा बुट्टेदार कुर्ता लगाएकी, सेतो रङ्गको सुरुवालले मृतकको टाउको छोपेको, खैरोमा कालो फित्ता भएको चप्पल मृतकको छेउमै रहेको, मृतक लाशदेखि उत्तर ३ मिटरको दुरीमा गुलावी रङ्गको झोला फेला परेको थियो । उक्त शवको हालसम्म पहिचान हुन नसकेकोले पहिचानका लागि सहयोग गर्न प्रहरीको आग्रह छ ।