सेती प्रादेशिक अस्पतालमा शुक्रवार राती आएका १८० थान अक्सिजन सिलिन्डर सकिएका छन् । अक्सिजन ग्यासको सिलिन्डर सकिएपछि सेती प्रादेशिक अस्पताल लगायत सुदूरपश्चिमका अस्पतालमा अक्सिजनको अभाव भएको हो।अक्सिजन अभावले अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको ज्यान जोखिममा परेको चिकित्सकले बताएका छन् ।
अस्पतालहरूमा अक्सिजन र शय्या नपाएर बिरामीहरू छटपटाउनुपर्ने अवस्था आएको छ। कोरोना सङ्क्रमित र शङ्कास्पद बिरामीले यहाँका अस्पताल भरिभराउ छन्। कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । बिरामीका आफन्तहरू अक्सिजनको खोजीमा भौँतारिरहेका छन्। भर्ना भएका सङ्क्रमित र शङ्कास्पद बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले केटिएम दैनिकसँग बताए।
अक्सिजनको आपूर्ति तत्काल हुन नसके स्थिति भयावह हुने उनको भनाइ छ।
शनिवार पनि धनगढीका कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन। अक्सिजनको लागि बिरामीका आफन्तहरू भौँतारिएका छन् । शरीरमा अक्सिजनको मात्रा कम भएपछि आफन्तलाई धनगढीको एक निजी अस्पतालमा भर्ना गरेका गोदावरी नगरपालिकाका कृष्णराज भट्टले धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पाउन नसकेको गुनासो गरे । अक्सिजनको कमीले बिरामीको अवस्था बिग्रँदै गएको उनले बताए। ‘शरीरमा अक्सिजनको मात्रा ८० मा झरेको छ। अस्पतालले अक्सिजन छैन, खोजेर ल्याऊ भन्छ,’ भट्टले भने, ‘दिनभर धेरै ठाउँ खोज्ने प्रयास ग¥यौँ, कहीँ पनि पाइएन ।’
बिहीबार राति हावाहुरीले विद्युत् आपूर्ति बन्द भएपछि धनगढीमा रहेको मालिका अक्सिजन उद्योगमा राति उत्पादन बन्द हुँदा धनगढीमा अभाव झन् चर्किएको हो। बिहानबाट सुचारु भए पनि उद्योगले यहाँको माग धान्न सक्ने अवस्था छैन। सेती प्रादेशिक अस्पतालमा पनि शुक्रवार कतिपय बिरामीले अक्सिजन पाएनन्। अक्सिजनको पर्याप्त आपूर्ति भर्ना भएकै बिरामीलाई दिन नसकिएको मेसु पाण्डेयले बताए। आपूर्ति सहज नभएपछि अक्सिजन सपोर्ट दिइरहेका बिरामीलाई समेत बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ। ‘भर्ना भएर नियमित दिँदै आएका बिरामीलाई समेत अक्सिजन दिन सकिएको छैन,’ पाण्डेयले भने, ‘नयाँ भर्ना हुने बिरामीलाई त तत्काल अक्सिजन उपलब्ध गराउन सकिने अवस्था नै छैन।’
सेतीमा अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत भइरहेको अस्पतालले जनाएको छ। सेतीको प्लान्टमा दैनिक ५०–५५ सिलिन्डर उत्पादन हुन्छ। थप अक्सिजन यहाँको मालिका उद्योग र नेपालगन्जबाट आयात गर्ने गरिएको छ। दुई दिनदेखि नेपालगन्जबाट आपूर्ति रोकिए पनि अभाव बढेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। ‘सेतीमा अहिले ५० जना सङ्क्रमित उपचाररत छन्। कोरोना अस्थायी अस्पतालमा बेड नभएपछि धनगढी क्याम्पस रोडका एक सङ्क्रमितलाई धनगढी उपमहानगरपालिकाको एम्बुलेन्समा घर पठाएको छ।
तीन जना भेन्टिलेटर, १५ जना आइसियु र ३० जना अक्सिजन सपोर्टमा उपचाररत छन्। यस्तै, कोरोना शङ्कास्पद २० जना बिरामी आकस्मिक कक्षमा उपचाररत छन्। उनीहरूलाई पनि अक्सिजन आवश्यक रहेको अस्पतालले जनाएको छ। शङ्कास्पद बिरामीको चाप बढेपछि सेतीले बरन्डा र ग्यालरीमा समेत बिरामी राखेर उपचार गरिरहेको छ। बरन्डामा र ग्यालरी भरिभराउ भएपछि अस्पताल भित्र जान नसकिने अवस्था छ।