जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ ।
कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
मङ्गलबार केटिएम दैनिकमा “कोरोनाकालमा निजी अस्पतालको लुटधन्दा एक रातको ५० हजारसम्म” शीर्षकमा समाचार प्रकाशित भएको थियो । अरु सञ्चारमाध्यमले काठमाडौंका २ अस्पताललाई मात्रै उदृत गर्दै समाचार बनाइरहँदा केटिएम दैनिकले झापाको बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालले कोरोना सङ्क्रमितलाई ३३ घण्टा राख्दा ८८ हजारको बिल उठाएको समेत उल्लेख गरेको थियो ।
संक्रमितको उपचारका लागि केएमसीको दैनिक ३० हजारसम्म र ह्याम्स अस्पतालको दैनिक ५० हजार रुपैयाँसम्मको शुल्क सूची मङ्गलबार अपरान्हबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । केएमसीले मङ्गलबार पुन एक विज्ञप्ती जारी गर्दै उक्त संस्थाले स्वास्थ्य मन्त्रालयबाट शोधभर्ना लिनेगरी सङ्क्रमितको उपचार निशुल्क गर्ने भन्दै आफ्नो बचाउ समेत गरेको थियो भने ह्याम्स अस्पतालले बिरामीका आफन्तलाई अस्पतालमा उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्चको बारेमा कतै उजुर नगर्ने भन्दै मन्जुरीनामा समेत गराएको भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क आईसीयूमा १५ हजार रुपैयाँसम्म लिन पाउने नियम बनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले नियम विपरीत बढी शुल्क लिएको पाए कारबाही गर्ने बताए ।