प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् । भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगरको रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सो निर्देशन दिएकी हुन् ।
भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिइन् ।
मन्त्री राईले भनिन्, ‘दैनिक हजारौँको संख्यामा प्रवेश गरेको पाइएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोरबाटो प्रयोग गर्नेहरूलाई नियन्त्रण गर्न उनले निर्देशन दिइन् । उनले भनिन्,‘ मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।’
शसस्त्र प्रहरी बलका एसपी तिर्थ पौडेलले सीमा–नाकामा सुरक्षा जाँच कडा गरेको बताए । शंकास्पदहरूको चेकजाँच गरी सम्बन्धित निकायमा जानकारी गराउने गरेको उनले मन्त्री राईसमक्ष जानकारी गराए ।
खुल्ला सीमाका कारण आवत–जावतमा कडाइ गर्न समस्या भएको बताउँदै उनले पहिलेको तुलनामा अहिले नियन्त्रण हुँदै गएको बताए ।