काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आगामी २५ वैशाखमा बस्ने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति तय गरेको हो । यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली सहमत भएपछि स्थायी समिति बैठक अनिश्चित भएको थियो ।
ओली शनिबार सचिवालयमा स्थायी समिति बोलाउन तयार भए । सरकारले ल्याएको विवादास्पद अध्यादेशको पृष्ठभूमिमा पार्टी विवाद चर्किएका बेला २० स्थायी समिति सदस्यले स्थायी समिति बैठक बोलाउन पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई लिखित निवेदन दिएका थिए ।
नेकपा विधानमा एक तिहाइ सदस्यले माग गरेपछि स्थायी समिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । तर, पार्टीभित्रैबाट राजीनामा मागिएका बेला स्थायी समितिले सरकारबाट फिर्ता बोलाउन सक्ने भएका कारण प्रधानमन्त्री ओली स्थायी समिति बैठक टार्ने रणनीतिमा थिए ।
यसैबीच स्थायी समिति बैठकका एजेण्डा तय गर्न २४ वैशाखमा नेकपाको सचिवालय बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।