सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न आठ खेलका प्रतिस्पर्धा हुँदैछन् ।
आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिसका खेल सञ्चालन हुनेछन् । सबै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन् ।
टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन् । ती खेल कभर्डहल, कालुङचोक क्रिकेट मैदान र सेनाको राजदल गणमा हुनेछन् ।
बागमती पदक तालिकाको शीर्ष स्थानमा
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत हालसम्म सम्पन्न खेलको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ ।
बागमतीले हालसम्म १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जितेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) १२ स्वर्ण, चार रजत र चार कांस्य गरी २० पदकसहित दोस्रो स्थानमा छ ।
त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कांस्य गरी सर्वाधिक ५० पदक जिते पनि स्वर्ण पदकका आधारमा तेस्रो स्थानमा रहेको छ । नेपाल पुलिस क्लब आठ स्वर्ण, १५ रजत र १८ कांस्य गरी ४१ पदकसहित चौथो स्थानमा छ ।
त्यस्तै, गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र चार कांस्य गरी नौ पदक जितेको छ । कोशी प्रदेशले चार स्वर्ण, एक रजत र एक कांस्य गरी छ पदक तथा सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण, एक रजत र एक कांस्य गरी पाँच पदक प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशले दुई स्वर्ण, छ रजत र तीन कांस्य गरी ११ पदक तथा सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, पाँच रजत र दुई कांस्य गरी नौ पदक जितेका छन् । मधेश प्रदेशले दुई कांस्य पदक मात्रै जित्दा कर्णाली प्रदेशको पदक खाता खुल्न सकेको छैन ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल हुन नसकेको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समयको ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलमा पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए ।
जितसँगै पुलिस सेमिफाइनलमा पुग्दा गण्डकी प्रदेशको प्रतियोगितात्मक यात्रा समाप्त भएको छ ।