काठमाडौं । ‘ग्लोबल आईएमई प्लेटिनम गल्फ २०२६’ प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा सुरु प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको होल इन वान विजेतालाई आधुनिक स्कोडा एसयूभी प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारस्वरूप प्रदान गरिनेछ ।
प्रतियोगिताले खेलप्रेमीलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने विश्वास रहेको आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले बताए । उनले यस प्रतियोगिताले नेपालको गल्फ पर्यटनलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै आगामी वर्षदेखि यसलाई वार्षिक क्यालेन्डरकै रूपमा अघि बढाउने धारणा राखे ।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले समाजका विभिन्न तह र तप्काका व्यक्तित्वलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा व्यक्तित्वलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
प्रतियोगिता आयोजनामा आईएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलगायत संस्थाले सहकार्य गरेका छन् ।