काठमाडौँ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुटेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएपछि नेपालको अन्तरराष्ट्रिय हवाई उड्डयन क्षेत्रमा नयाँ सम्भावना देखिएको छ ।
विशेषगरी भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने नेपालको प्रयासलाई यस सहमतिले थप बल पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको मङ्सिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणका क्रममा दुई देशबीच उक्त सहमति भएको हो । दुवै देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी सञ्चालनमा रहेको बी३४५ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख छ ।
संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा उक्त हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको र यसको सञ्चालनसम्बन्धी मोडालिटीलाई अन्तिम रूप दिन प्राविधिक परामर्श गरिने जनाइएको छ । साथै, छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई पनि प्राविधिक तहबाट टुङ्ग्याउने समझदारी भएको छ ।
यो सहमतिले नेपाललाई पश्चिमी क्षेत्रबाट अन्तरराष्ट्रिय जहाज प्रवेश तथा बहिर्गमनका लागि थप विकल्प उपलब्ध गराउनेछ । हाल सीमित हवाई प्रवेशमार्गमा निर्भर रहनुपर्दा अन्तरराष्ट्रिय उडान व्यवस्थापनमा देखिँदै आएको समस्या समाधान गर्न यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राविधिक टोलीले सुरु गर्यो तयारी
भारतसँग सहमति जुटेसँगै नयाँ हवाई मार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार संयुक्त प्राविधिक टोलीले रुट सञ्चालनसम्बन्धी गृहकार्य सुरु गरिसकेको छ ।
नयाँ मार्ग कुन भौगोलिक बिन्दुबाट नेपाल प्रवेश गर्ने, जहाज कति उचाइमा सञ्चालन हुने र भारतबाट नेपालतर्फ जहाज हस्तान्तरण गर्ने प्रक्रिया कसरी व्यवस्थापन गर्ने भन्ने विषय प्राविधिक छलफलबाट टुङ्गो लगाइनेछ ।
क्यानका एक उच्च अधिकारीका अनुसार नेपाली पक्षले आवश्यक तयारी अघि बढाएको छ भने भारतीय पक्षसँग संयुक्त बैठकका लागि प्रस्ताव पठाउने तयारी भइरहेको छ ।
उहाँले संयुक्त प्राविधिक टोलीले काम सुरु गरिसकेको उल्लेख गर्दै प्रवेशबिन्दु र जहाजको उडान उचाइलगायत विषय दुवै देशका प्राविधिक टोलीले निर्धारण गर्ने बताउनुभयो ।
प्राविधिक छलफलबाट रुटको अन्तिम स्वरूप, उडान सञ्चालन प्रक्रिया, उचाइ निर्धारण तथा हवाई ट्राफिक व्यवस्थापनका विषय टुङ्ग्याइनेछ । त्यसपछि दुवै देशका नागरिक उड्डयन निकायले आ–आफ्नो एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइपी)मा आवश्यक सूचना प्रकाशित गर्नुपर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्ट अथोरिटी अफ इन्डियाले एआइपीमा सूचना सार्वजनिक गरेपछि मात्रै नयाँ हवाई मार्ग औपचारिक रूपमा सञ्चालनमा आउनेछ । त्यसैले राजनीतिक तहमा सहमति भइसके पनि अन्तरराष्ट्रिय उडानमा यसको प्रयोग सुरु हुन केही प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
त्रिभुवन विमानस्थलको चाप घट्ने अपेक्षा
नयाँ हवाई मार्ग सञ्चालनमा आएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।
हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तरराष्ट्रिय जहाजले बाराको सिमरा प्रवेशबिन्दु प्रयोग गर्दै आएका छन् । सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा पश्चिमी क्षेत्रबाट आउने जहाजले छोटो र सहज मार्ग प्रयोग गर्न पाएका छैनन् ।
भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले थप विकल्प पाउनेछन् । यसले उडान दूरी र समय घटाउनुका साथै अन्तरराष्ट्रिय हवाई मार्गमा हुने चाप व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ । जहाजलाई लामो समय आकाशमै होल्ड गर्नुपर्ने अवस्था पनि कम हुने अपेक्षा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले थप हवाई प्रवेशमार्ग प्राप्त हुनु नेपालको उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँका अनुसार नयाँ रुटले नेपालको हवाई क्षेत्रको उपयोग क्षमता र उडान सञ्चालन दक्षता बढाउनेछ । जहाजको आवतजावत सहज हुने, इन्धन खपत घट्ने तथा यात्रुको समय र खर्च बचत हुने उहाँको भनाइ छ । यसबाट विदेशी पर्यटकको आवागमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
उहाँले भन्नुभयो, “थप हवाई रुट प्राप्त गर्नु नेपालका लागि ठूलो उपलब्धि हो । यसलाई परिपक्वता दिन केही प्राविधिक काम बाँकी छन् । दुवै देशका प्राविधिक टोलीले यसलाई टुङ्गोमा पुर्याएपछि कार्यान्वयनमा आउनेछ ।”
भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा सहजता
नेपालले थप हवाई प्रवेशमार्गका लागि पहल गर्नुको मुख्य उद्देश्य भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु हो ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सरकारले ठूलो लगानी गरेको छ । दुवै विमानस्थल सञ्चालनमा आए पनि अपेक्षाअनुसार नियमित अन्तरराष्ट्रिय उडान विस्तार हुन सकेको छैन । भारतीय हवाई क्षेत्रसँग सहज प्रवेश तथा बहिर्गमन मार्गको अभावलाई यसको प्रमुख चुनौतीका रूपमा लिने गरिएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्दा भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण हुन्छ । तर भारततर्फ सहज प्रवेश र बहिर्गमन मार्ग उपलब्ध नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।
भैरहवा रुट दुईतर्फी भएपछि पश्चिमबाट आउने अन्तरराष्ट्रिय जहाजलाई नेपाल प्रवेश गर्न र उडानपछि बाहिरिन सहज हुनेछ । यसले विशेषगरी पश्चिमी मुलुकबाट आउने जहाजको उडान व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न पनि सहज हवाई सम्पर्क आवश्यक छ । पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जहाजले छोटो मार्ग प्रयोग गर्न पाएमा पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्न थप सहज हुने विश्वास गरिएको छ ।
यद्यपि, भैरहवा रुटसम्बन्धी सहमतिले यी दुवै विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन हुने सुनिश्चित गर्दैन । नियमित अन्तरराष्ट्रिय उडान, वायुसेवा कम्पनीको व्यावसायिक चासो, यात्रुको माग र अन्य पूर्वाधारको उपलब्धता पनि उत्तिकै महत्वपूर्ण हुनेछन् ।
नेपालले यसअघि भारतसँग महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरलगायत क्षेत्रबाट अन्तरराष्ट्रिय जहाज प्रवेश गराउन थप हवाई मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको थियो ।
यसक्रममा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज प्रवेश गराउन सहमत भएको जनाइएको छ । यसलाई नेपालको पश्चिमी हवाई प्रवेश व्यवस्थापनका लागि महत्वपूर्ण सम्भावनाका रूपमा हेरिएको छ । भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारत सकारात्मक देखिए पनि अन्तिम निर्णय हुन बाँकी छ ।
नेपालले तत्काल कार्यान्वयन गर्न सकिने हवाई मार्ग सञ्चालनमा ल्याउँदै बाँकी विषयलाई क्रमशः वार्तामार्फत टुङ्ग्याउन प्रस्ताव गर्दै आएको थियो । भारतले भने विभिन्न हवाई मार्ग र नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई समग्र रूपमा सम्बोधन गर्न चाहेको थियो ।
नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयसँगै भारतले बागडोग्रा विमानस्थलका लागि पनि नेपालसँग हवाई मार्गसम्बन्धी प्रस्ताव गरेको थियो । पछिल्लो सहमतिमा यी विषयलाई समेत प्राविधिक परामर्शमार्फत अघि बढाउने समझदारी भएको छ ।
उडान समय र सञ्चालन खर्च घट्ने
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले भैरहवा हवाई रुट दुईतर्फी बनाउने सहमति नेपालको हवाई उड्डयन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
उहाँका अनुसार पश्चिमबाट नेपाल प्रवेश गर्ने जहाजले नयाँ मार्ग प्रयोग गर्न पाएमा उडान समय, इन्धन खपत र सञ्चालन खर्च घट्नेछ । यसले अन्तरराष्ट्रिय हवाई मार्गमा हुने चाप कम गर्नुका साथै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान व्यवस्थापनमा समेत सहयोग पुर्याउनेछ ।
उहाँले भन्नुभयो, “भैरहवामा एकतर्फी हवाई रुट छ । दुईतर्फी भयो भने नेपालमा पश्चिमबाट प्रवेश गर्ने जहाजको समय कम हुन्छ । अन्तरराष्ट्रिय हवाई रुटको चाप पनि घट्छ । जहाजको आवर घट्छ र जहाजको साइकल पनि कम हुन्छ । काठमाडौँ विमानस्थलको उडान चाप व्यवस्थापनमा टेवा पुग्छ ।”
उहाँले सहमति कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उडान समय र इन्धन खर्च घट्दा वायुसेवा कम्पनीलाई आर्थिक लाभ पुग्ने र यसले क्षेत्रीय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न कम्पनीहरूलाई प्रोत्साहित गर्न सक्ने उहाँको भनाइ छ ।
त्यस्तै, जहाज लामो समय आकाशमा होल्ड गर्नुपर्ने अवस्था घट्दा यात्रुको यात्रा समय कम हुने र उडानको नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ ।
एक दशकदेखिको कूटनीतिक प्रयासले पायो सफलता
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप अन्तरराष्ट्रिय हवाई प्रवेशमार्ग उपलब्ध गराउन कूटनीतिक पहल गर्दै आएको थियो । यसअघि पनि विभिन्न प्रधानमन्त्रीको भारत भ्रमण र उच्चस्तरीय द्विपक्षीय वार्तामा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरेको थियो ।
तर प्राविधिक जटिलता, सुरक्षा संवेदनशीलता र हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा सहमति जुट्न नसक्दा लामो समयसम्म ठोस परिणाम आउन सकेको थिएन ।
अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी गरे पनि भारतीय हवाई क्षेत्रसँग सहज सम्पर्क नहुँदा ती विमानस्थलबाट नियमित उडान विस्तार गर्न कठिनाइ भइरहेको विषय नेपालले निरन्तर उठाउँदै आएको थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाइएपछि लामो समयदेखि जारी छलफलले सकारात्मक परिणाम दिएको हो ।
नेपाल र भारतबीच भएको पछिल्लो सहमतिलाई एउटा नयाँ हवाई मार्ग प्राप्त गर्ने उपलब्धिमा मात्र सीमित गरेर हेर्न मिल्दैन । यो नेपालको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, क्षेत्रीय विमानस्थलको व्यावसायिक उपयोग र पर्यटन प्रवर्द्धनसँग पनि जोडिएको छ ।
तर सहमतिबाट अपेक्षित लाभ लिन दुवै देशले प्राविधिक तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गर्नुपर्नेछ । रुटको प्रवेशबिन्दु, उडान उचाइ, हवाई ट्राफिक व्यवस्थापन र सुरक्षा मापदण्ड टुङ्ग्याएर दुवै देशको एआइपीमा सूचना प्रकाशित भएपछि मात्रै नयाँ मार्गबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न सकिनेछ ।