काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको दोस्रो दिन १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ बजाएर सुरु गरिएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंसिर ७ देखि सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुँदैछ। प्रतियोगितालाई भव्य र सफल बनाउन बैठकले स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ। बैठकमा वक्ताहरूको मन्तव्यबीचको अन्तरालमा समेत प्रतियोगिताको सिग्नेचर गीत बजाइएको थियो।
बैठकमा सभापति गगनकुमार थापाले सात हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिताले नेपाली खेलकुदको विकास र विस्तारमा नयाँ ऊर्जा तथा उत्साह थप्ने विश्वास व्यक्त गरे।
बैठकले प्रतियोगितालाई भव्य, सभ्य र अविस्मरणीय बनाउन तीनै तहका सरकार, निजी क्षेत्र, खेलप्रेमी समुदाय तथा सम्पूर्ण नेपालीलाई सहयोगका लागि अपिल गरेको छ। साथै, प्रतियोगितामा सहभागी सबै खेलाडीलाई स्वस्थ प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ।