सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार आज दिउँसो करिब १ बजे बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए। सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाका बेला सँगै रहेका उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। हात्तीको आवतजावत बढेसँगै बस्तीका नागरिक जोखिममा परेका छन्।
यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सप्तरीको सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो।