इलाम । इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुर सुन्तला खेतीका कारण आर्थिक समृद्धिसँगै पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको छ। यहाँ सुन्तला बिक्रीबाट मात्रै वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ। पछिल्लो समय सुन्तला बगान अवलोकन गर्न र बोटबाटै ताजा सुन्तला टिपेर खान आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ।
पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको सलकपुरको करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। यतिबेला बगानमा सुन्तला लटरम्म फलेर पाकेका छन्। पहेँलपुर बनेका बगानमा सुन्तलाको स्वाद लिन, आफैँले टिपेर खान र तस्बिर खिच्न आन्तरिक तथा भारतीय पर्यटक पुग्ने गरेका छन्।
वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक औसत एक सय पर्यटक आउने गरेका छन्। वडा कार्यालयको तथ्याङ्कअनुसार यहाँ वार्षिक ४५० देखि ६०० मेट्रिक टनसम्म सुन्तला उत्पादन हुन्छ। मौसम अनुकूल हुँदा र रोगकिराको प्रकोप कम भएका वर्ष उत्पादन अझ बढ्ने गरेको छ।
सुन्तला खेतीबाट गाउँका एक सयभन्दा बढी घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। रोगका कारण पुराना बोट मर्न थालेपछि किसानले नयाँ बोट रोपेर बगान विस्तार गर्ने क्रमसमेत बढाएका छन्।
सलकपुरमा उत्पादित सुन्तला स्वादिलो र रसिलो भएकाले बगानबाटै बिक्री हुने गरेको छ। यहाँको सुन्तला झापाका काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरसम्म पुग्ने गरेको छ। सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाको छुट्टै पहिचान बनेको छ।
इलाम, झापा, मोरङ र सुनसरीका साथै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक सलकपुर पुग्न थालेका छन्। स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा विशेषगरी शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ।
सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन्। बजारमा सुन्तलाको मूल्य प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म रहे पनि बगानमै पुग्ने पर्यटकले प्रतिकिलो १३० रुपैयाँमा ताजा सुन्तला खरिद गर्न पाउँछन्। यसले पर्यटकसँगै व्यापारीलाई पनि सिधै बगानमा पुगेर सुन्तला खरिद गर्न आकर्षित गरेको छ।
शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनबाट आउने पर्यटकको चाप बढ्ने गरेको छ। झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत ती दुई दिनमा ३०० देखि ५०० जनासम्म पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताए।
आफैँले समेत १० रोपनी क्षेत्रफलमा सुन्तला बगान लगाएका खड्काका अनुसार यस वर्ष विगतका तुलनामा उत्पादन राम्रो भएको छ। सुन्तला बगानको अवलोकनसँगै पर्यटकले नजिकै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको मनोरम दृश्यसमेत हेर्न पाउँछन्।
सलकपुरमा सुन्तला खेतीको इतिहास पनि पुरानो छ। विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले यहाँ पहिलोपटक सुन्तला खेती सुरु गरेका थिए। सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपेर थालिएको खेतीले अहिले व्यावसायिक रूप लिएको छ। पछिल्लो समय पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन्।
सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि पनि परिचित छन्। यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लैजाने गरिएको छ।
यसरी परम्परागत कृषिलाई व्यावसायिक उत्पादन र पर्यटनसँग जोड्दै सलकपुरले स्थानीयको आम्दानी बढाउनुका साथै पूर्वी नेपालको नयाँ पर्यटकीय गन्तव्यका रूपमा आफ्नो पहिचान विस्तार गरिरहेको छ।