बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार ७४० जनाले भ्रमण गरेका छन् ।
हेटौँडाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको सहिद स्मारकमा एक महिनाको अवधिमा ३६ हजार ७४० पर्यटकले अवलोकन भ्रमण गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिनुभयो ।
स्मारक क्षेत्रमा अवलोकन भ्रमण, वनभोज, चलचित्र छायाङ्कनलगायत विभिन्न प्रयोजनका लागि शुल्क निर्धारण गरिएको छ । पर्यटकको प्रवेश तथा अन्य गतिविधिबाट कात्तिक महिनामा कुल २२ लाख २९ हजार ६५० रुपैयाँ आम्दानी भएको बिडारीले बताउनुभयो । उक्त आम्दानी कर्मचारी व्यवस्थापन तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा खर्च गरिने गरिएको छ ।
हिउँद सुरु भएसँगै सहिद स्मारकमा वनभोजका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । वनभोजका लागि स्मारक परिसरमा नौ वटा व्यवस्थित सेडसहित खुला स्थानको समेत व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
स्मारकमा एउटै ढुङ्गामा नेपालको इतिहासका विभिन्न कालखण्डका सहिदका आकृति कुँदिएका छन् । त्यहाँ भक्ती थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ । साथै, ज्ञात तथा अज्ञात सहिदको प्रतिनिधित्व गर्ने महिला र पुरुषका अमूर्त आकृतिसमेत निर्माण गरिएको छ ।
स्मारक परिसरमा मनमोहन वाटिका, जातीय सङ्ग्रहालय र चिडियाखाना प्रमुख आकर्षणका रूपमा रहेका छन् । त्यस्तै, मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिन हाउस तथा फोहोरासहितको पार्कले पनि पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।
पर्यटकको सुविधालाई ध्यानमा राख्दै सहिद स्मारक वर्षभरि नै खुला राख्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।