काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताएका छन् ।
आइतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ कथा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिबद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए ।
२०८२ भदौ २३ र २४ गतेको घटनाले नेपाली राजनीतिमा परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै अर्यालले युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए । नयाँ राजनीतिक शक्तिका लागि यो ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उनको भनाइ थियो ।
राज्यसँग सीमित साधनस्रोत भए पनि उपलब्ध स्रोतको पारदर्शी र प्रभावकारी परिचालन गर्न सके विकास र समृद्धिको यात्रालाई गति दिन सकिने उनले बताए । सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनभावनाअनुसारका कानुन निर्माण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
सभामुख अर्यालले साहित्यकारहरूले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए । नीति निर्माता र जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या तथा नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।
व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व भएको उनले बताए ।
उनले प्रतियोगिताको उत्कृष्ट २५ मा परेका कथाकारसहित प्रथम, द्वितीय र तृतीय हुने स्रष्टाहरूलाई बधाई दिँदै नेपाली कथा साहित्यको विकास र समाजको सकारात्मक रूपान्तरणमा सिर्जनशील योगदान जारी राख्न शुभकामना व्यक्त गरे ।