काठमाडौं । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रोपटक उपाधि भिडन्तमा स्थान बनाएको हो ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा विकेटकिपर निरोशन डिकवेला नायक बने । उनले ३७ बलमा अविजित ५९ रन बनाए । कप्तान रोहित पौडेलले २८ बलमा एक चौकासहित २१ रन जोडे । तेस्रो विकेटका लागि डिकवेला र रोहितले ३८ रनको साझेदारी गरे ।
लुम्बिनीको सुरुआत भने कमजोर रह्यो । ओपनर डार्सी सटलाई स्कट कुग्गेलिनले खाता खोल्न नदिई बोल्ड गरे भने आसिफ शेख चार रनमा आउट भए । हेमन्त धामीको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीले आसिफको क्याच लिए । त्यसपछि क्रिजमा आएका डिकवेलाले इनिङ्स सम्हाल्दै टोलीलाई जिततर्फ डोर्याए । रोहित २१ र सन्दीप जोरा आठ रनमा आउट भए पनि डिकवेलाले अविजित रहँदै टोलीको जित सुनिश्चित गरे ।
सुदूरपश्चिमको कमजोर ब्याटिङ र फिल्डिङ लुम्बिनीको जितको आधार बन्यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ र इशान पाण्डेले २७ रन बनाउनु नै टोलीका लागि उल्लेख्य प्रदर्शन रह्यो । यी दुईले चौथो विकेटका लागि ६४ रनको साझेदारी गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमले सुरुआतमै लगातार विकेट गुमाएको थियो । रुबेन ट्रम्पलमेनले जर्ज मुन्से र थानुका डाबरेललाई शून्य र तीन रनमा आउट गर्दै दबाबमा राखे । त्यसपछि अभिषेक गौतमले विनोद भण्डारीलाई तीन रनमा पभेलियन पठाएपछि सुदूरपश्चिम ३.१ ओभरमा आठ रन जोड्दा तीन विकेट गुमाएको अवस्थामा पुग्यो ।
दीपेन्द्र र इशानले धैर्यपूर्वक ब्याटिङ गर्दै इनिङ्स सम्हाले पनि १४.१ ओभरमा इशान रनआउट भएपछि साझेदारी टुट्यो । त्यसपछि सुदूरपश्चिमले थप ३३ रन जोड्दा चार विकेट गुमायो । १८ ओभरमा ९४ रन बनाएको टोलीले अन्तिम दुई ओभरमा ११ रन मात्रै थप्न सक्यो । अन्तिम ओभरको दोस्रो बलमा दीपेन्द्र आउट भएपछि टोलीको इनिङ्स १०५ रनमा रोकियो ।
लुम्बिनीका लागि ट्रम्पलमेन र शेर मल्लले समान दुई विकेट लिए । अभिषेक गौतम र किशोर महतोले एक–एक विकेट हात पारे । ट्रम्पलमेनले चार ओभरमा १४ रन मात्रै खर्चिए भने अभिषेकले ११ र किशोरले १९ रन दिए ।
यस जितसँगै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको छ । सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन् । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ ।
लुम्बिनीले यस सिजन लिग चरणको उद्घाटन खेलमा पनि सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो । यससँगै सुदूरपश्चिमले लुम्बिनीसँग पाँच भेटमा तेस्रो हार बेहोरेको छ । गत सिजनको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।