काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको आगामी आठौँ महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने उनले बताएका हुन् ।
राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको शाहीले अनलाइनखबरसँग बताएका छन् ।
‘अध्यक्ष पदमा उठ्ने हो । एक–दुई दिनभित्रै औपचारिक घोषणा गर्नेछु,’ उनले भने ।
राप्रपाको विद्यमान विधानअनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार बन्न कम्तीमा एक कार्यकाल केन्द्रीय पदाधिकारीका रूपमा काम गरेको हुनुपर्ने व्यवस्था छ । विधानमा केन्द्रीय अध्यक्षको उम्मेदवार हुन केन्द्रीय पदाधिकारी भई कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने उल्लेख छ ।
अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्रीलगायत पदलाई राप्रपाले केन्द्रीय पदाधिकारी मानेको छ । शाही हाल पार्टीको प्रवक्ता पदमा छन् ।
यसैबीच, वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले पनि दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । यद्यपि, उनले उम्मेदवारीबारे औपचारिक घोषणा गरिसकेका छैनन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पनि अध्यक्षका आकांक्षी देखिएका छन् । पूर्वअध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थनमा पाण्डेले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका हुन् ।
थापा, लोहनी र पाण्डेले महाधिवेशनलाई लक्षित गर्दै जिल्ला भ्रमणसमेत सुरु गरिसकेका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रममा शाही पनि सहभागी भएका थिए ।
गत निर्वाचनमा प्रत्यक्षतर्फ जित हासिल गर्ने राप्रपाका एकमात्र उम्मेदवार शाही हुन् ।