काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डु र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। टस जितेको काठमान्डुले पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको हो।
पोखरा एभेन्जर्सका लागि आजको खेल यस सिजनको अन्तिम खेल हो। समूह चरणको अन्तिम स्थानमा रहेको पोखरा जितका साथ प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। यता काठमान्डु भने यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।
आजको खेलका लागि काठमान्डुले टोलीमा चार खेलाडी परिवर्तन गरेको छ। आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमशः सुमित महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टो टोलीमा आएका छन्।
त्यस्तै, पोखराले पनि तीन खेलाडी परिवर्तन गरेको छ। सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा विपिन आचार्य, विवेक रानामगर र दिनेश खरेलले मौका पाएका छन्।
पोखराका नियमित विकेटकिपर अर्जुन घर्ती र सदिरा समरविक्रमा बेन्चमा रहेपछि आजको खेलमा अर्जुन कुमालले विकेटकिपिङको जिम्मेवारी सम्हाल्नेछन्।