मुगु– मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हालै स्थानीयवासीसँग गरेको छलफलका क्रममा पुल निर्माणका लागि बजेट छुट्याइएको जानकारी दिएका हुन् । उनले पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
छलफलका क्रममा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई लक्षित गरी स्थानीय सडकको मर्मतसम्भार गर्ने तथा धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको ऋणमोक्ष धामसम्म पुग्ने सडकसमेत सुधार गर्ने बताए ।
पुल निर्माण सम्पन्न भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक र लुवारपोल्नालगायत दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
पुल बनेसँगै स्थानीयको दैनिक आवतजावत सहज हुनुका साथै धार्मिक तथा पर्यटकीय स्थलसम्मको पहुँच विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।