काठमाडौं । तिहारमा आवश्यक पर्ने भाइमसलाको मूल्य बढेपछि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको व्यवसायीले बताएका छन्। अघिल्ला वर्षको तुलनामा यसपटक भाइमसलाको खपत घटेको उनीहरूको भनाइ छ।
भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल बजारमा भित्रिएसँगै केही सामग्रीको मूल्य बढेको हो। गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएका छन्। विशेषगरी पिस्ता र बदामको मूल्य बढेको छ भने नरिवल र ओखरको मूल्य प्रतिकिलो एक सयदेखि डेढ सय रुपैयाँसम्म वृद्धि भएको उनले बताए।
मूल्यवृद्धिका कारण उपभोक्ताको खरिद क्षमतामा असर परेको बज्राचार्यको भनाइ छ। पहिले एक किलो भाइमसला किन्ने ग्राहकले अहिले आधा किलो र आधा किलो किन्नेले दुई सय वा सय ग्राम मात्रै खरिद गर्न थालेका छन्।
‘मूल्य बढेका कारण ग्राहकले पहिलेको जति खरिद गर्न सकेका छैनन्। एक किलो लिनेले आधा किलो र आधा किलो लिनेले दुई सय वा सय ग्राम भए पनि लगेर काम चलाइरहेका छन्,’ उनले भने।
भाइटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा रहेकाले व्यापार पूर्ण रूपमा निराशाजनक नभए पनि मूल्यवृद्धिले समग्र खपत घटाएको उनले बताए।
ढाकाटोपीको बिक्री भने उत्साहजनक
भाइमसलाको कारोबार अपेक्षाअनुसार हुन नसके पनि तिहारमा ढाकाटोपीको बिक्री भने उत्साहजनक रहेको व्यवसायीले बताएका छन्। तिहारमा दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिएर टीका लगाउने परम्पराका कारण यसको माग बढेको हो।
व्यवसायीका अनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको बिक्री दुईदेखि तीन गुणासम्म बढेको छ। ग्राहकको मागलाई ध्यानमा राखेर विभिन्न डिजाइन र गुणस्तरका टोपी पर्याप्त मात्रामा मौज्दात राखिएको उनीहरूले बताएका छन्।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिँदा भाइमसला, ढाकाटोपी, मिठाईलगायत सामग्री उपहार दिने चलन छ।