बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखिने मनोरम हिमशृङ्खला र फराकिला पाटनका कारण परिचित ढोरपाटनमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका तथा आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा र प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका छन्।
नेपालमा कानुनी रूपमा सिकार खेल्न पाइने एकमात्र क्षेत्र ढोरपाटनमा चालु आर्थिक वर्षको पहिलो सिकार याम सुरु भएको छ। असोजदेखि मङ्सिरसम्म सञ्चालन हुने यस याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन्।
ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार भइरहेको छ। यस यामका लागि ११ जना विदेशी सिकारी ढोरपाटन पुगिसकेका छन् भने थप छ जना आउने तयारीमा छन्।
रसिया, अमेरिका, स्पेन, डेनमार्क, फ्रान्स तथा अफ्रिकी मुलुकलगायतबाट धनाढ्य विदेशी सिकारी सिकारका लागि ढोरपाटन आउने गरेका छन्।
विदेशी सिकारीको गतिविधि उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित भए पनि ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिको आनन्द लिन तथा पदयात्रा गर्न काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन्।
स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन्। आन्तरिक पर्यटक भने स्थलमार्ग हुँदै ढोरपाटन आएर त्यहाँबाट पदयात्रा गर्दै बुकीपाटनसम्म पुग्ने गरेका छन्। विदेशी पर्यटक सिकारमा रमाउने गरेका छन् भने स्वदेशी पर्यटक पदयात्रा र प्राकृतिक दृश्यावलोकनमा बढी आकर्षित हुने गरेको उनले बताए।
ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन्। सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी तथा आरक्षका कर्मचारीसमेत खटिने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ।
ढोरपाटनमा प्रत्येक वर्ष दुई याममा सिकार खेलाउने व्यवस्था छ। पहिलो याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ। विदेशी सिकारीसहितको समूहले तोकिएको सिकार ब्लकमा १५ दिनभित्र सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको छ।
गत आर्थिक वर्षका दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो। त्यसबाट चार करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको आरक्ष प्रशासनले जनाएको छ। सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ।
पर्यटकको आगमन बढेसँगै ढोरपाटन क्षेत्रमा होटल तथा घरबास सञ्चालनको क्रमसमेत विस्तार हुँदै गएको छ। विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ।