काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाइएसँगै यातायात सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार गएराति करिब ११ बजे घोप्टेभीरमा पहिरो खसेको थियो । पहिरोका कारण अवरुद्ध भएको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको उनले जानकारी दिए ।
पहिरोका कारण रातिदेखि नै राजमार्गमा सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका थिए ।
यसअघि आइतबार पनि सोही सडकखण्डमा पहिरो खसेको थियो । उक्त पहिरो हटाउन करिब नौ घण्टा लागेको थियो ।