काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा स्थापित रहेको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लिच्छवी राजा राघवदेवको शासनकालमा काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराएर शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको ऐतिहासिक घटनाको स्मरण गरेका छन् ।
उनले शङ्खधर साख्वाको यही लोककल्याणकारी कार्यको सम्झनामा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गरेका छन् ।
नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको उल्लेख गर्दै राष्ट्रपतिले यस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउँदै आएको बताएका छन् ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरेका परोपकारी तथा लोककल्याणकारी कार्यको स्मरण गरेका छन् ।