भक्तपुर । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीको आलोचना गरेका छन् ।
सोमबार एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बस्नेतले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने व्यक्ति निर्वाचन जितेर गएको टिप्पणी गरे ।
विगतमा भक्तपुरले करोडौँ रुपैयाँको बजेट माग गर्न सक्ने भए पनि अहिले १० लाख रुपैयाँ माग्नसमेत नसक्ने अवस्था आएको उनको दाबी थियो । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खत्रीलाई लक्षित गर्दै उनले यस्तो अवस्था सिर्जना गर्ने ‘नक्कली स्याल’ र ‘भेडाको छाला ओढेका ब्वाँसो’को पर्दाफास गर्नुपर्ने बताए ।
उनले भक्तपुरवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा चोट पुगेको टिप्पणी गर्दै यस अवस्थाबारे गम्भीर समीक्षा हुनुपर्ने बताए । भक्तपुरको विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
नेपाली जनताले चाहेको पार्टी एमाले भएको दाबी गर्दै बस्नेतले विकास र समृद्धिको अभियान अघि बढाउने सामर्थ्य एमालेसँग मात्रै रहेको जिकिर गरे। एमाले र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अघि सारिएको विकासको अभियानबारे जनतामाझ पुनः बहस हुन थालेको उनको दाबी थियो ।