काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाल र भुटानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनको प्रभावसम्बन्धी प्रस्तावले महत्त्व पाएको छ । उक्त विषयमा आगामी दुई वर्ष संवाद गर्ने सहमति भएको छ।
टर्कीको अन्ताल्यामा जारी सम्मेलनको उद्घाटन सत्रमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गर्ने सहमति भएको जलवायु तथा वातावरण विज्ञ मञ्जित ढकालले जानकारी दिए । उनका अनुसार नेपालले अघि सारेको प्रस्तावमा सम्मेलनको अध्यक्षताले परामर्श (प्रेसिडेन्सी कन्सल्टेसन) प्रक्रिया अघि बढाउने भएको छ ।
नेपालको प्रस्ताव सम्मेलनको औपचारिक कार्यसूचीमा भने समावेश भइसकेको छैन । तर उद्घाटन सत्रमै त्यसले प्राथमिकता पाउनु र आगामी दुई वर्ष संवाद गर्ने सहमति हुनु सकारात्मक उपलब्धि भएको ढकालले बताए । उनका अनुसार पर्वतीय क्षेत्रको विषय आगामी वर्ष हुने अनुसन्धान संवादमा समेत समेटिनेछ । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असर र यससम्बन्धी अध्ययन अनुसन्धानका विषयमा उक्त संवादमा छलफल हुनेछ ।
ढकालका अनुसार सम्मेलनका उच्चस्तरीय बैठक र प्राविधिक छलफलमा पनि नेपालले पर्वतीय क्षेत्रको विषय उठाउने तयारी गरेको छ । प्रारम्भिक सहमतिलाई उपलब्धिका रूपमा लिन सकिने भए पनि त्यसलाई सम्मेलनको अन्तिम निर्णयमा समेट्न निरन्तर पैरवी आवश्यक रहेको उनले बताए ।
प्रधानमन्त्रीले न्युयोर्कमा गरेको सम्बोधन र परराष्ट्रमन्त्रीको प्रि–कोप सहभागिताले नेपालको जलवायु एजेन्डाबारे अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको ढकालको भनाइ छ । अतिकम विकसित राष्ट्रहरू (एलडीसी) ले पनि नेपालले उठाएका विषयलाई समर्थन गरेको उनले बताए ।
उनका अनुसार कार्बन उत्सर्जन घटाउनुपर्ने, जलवायु जोखिममा रहेका राष्ट्रलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने र जलवायु परिवर्तनको समस्यालाई न्यायको दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने विषय एलडीसी समूहले प्राथमिकताका साथ उठाएको छ ।
एलडीसी घोषणापत्रमा नेपालको जलवायु क्षतिको विषय
नेपालको पर्वतीय एजेन्डालाई अन्तर्राष्ट्रिय समर्थन जुटाउन एलडीसी समूहको सहकार्य पनि महत्त्वपूर्ण देखिएको छ । गत सेप्टेम्बरको पहिलो साता टिमोर–लेस्तेमा सम्पन्न एलडीसी समूहको मन्त्रीस्तरीय बैठकले पारित गरेको २६ बुँदे घोषणापत्रको पहिलो बुँदामै नेपालमा पछिल्लो समय भएको जलवायुजन्य विपद् र त्यसबाट पुगेको क्षतिको विषय समेटिएको ढकालले बताए ।
कोप–३१ को उद्घाटन सत्रमा एलडीसी समूहले प्रस्तुत गरेको सम्बोधनमा पनि नेपालको अवस्था तथा जलवायुजन्य क्षति र नोक्सानीको विषय उल्लेख गरिएको उनले जानकारी दिए ।
नेपालले यसअघिका जलवायु सम्मेलनहरूमा पनि पर्वतीय क्षेत्र, हिमालको तापक्रम वृद्धि र जलवायुजन्य जोखिमका विषय उठाउँदै आएको छ । तर छलफलमा प्राथमिकता पाएका विषयलाई सम्मेलनका अन्तिम निर्णयमा समेट्न भने नेपालले अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।
यसपटक उद्घाटन सत्रमै नेपालको प्रस्तावले महत्त्व पाउनु र एलडीसी समूहबाट समर्थन प्राप्त हुनुलाई सकारात्मक रूपमा लिइएको छ । यद्यपि, प्रस्तावित विषयले सम्मेलनको अन्तिम निर्णयमा कति स्थान पाउँछन् भन्ने आगामी वार्ता र नेपालको निरन्तर पैरवीमा निर्भर हुनेछ ।