काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३०) का अध्यक्ष आन्द्रे अरान्हा कोरिया दो लागोले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको उदाहरण दिँदै नेपाललाई पनि स्मरण गरेका छन् ।
टर्कीको अन्ताल्यामा सोमबार आयोजित कोप–३१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ब्राजिलको रियो ग्रान्डे दो सुल, नेपाल तथा अफ्रिका र युरोपका विभिन्न देशका जलवायु प्रभावित समुदायले भोगिरहेका पीडा र क्षतिलाई विश्व समुदायले बिर्सन नहुने बताए ।
जलवायु परिवर्तनसम्बन्धी निर्णय र त्यसको कार्यान्वयन विज्ञानमा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले सबैभन्दा बढी जोखिममा रहेका तथा कमजोर समुदायको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । जलवायु कार्यसूची वातावरण संरक्षणमा मात्र सीमित नभई मानव जीवन र विकाससँग प्रत्यक्ष जोडिएको उनको भनाइ थियो ।
उनले जलवायु नीतिले जनताको जीवनस्तर सुधार गर्नुपर्ने र संक्रमणकालीन प्रक्रियाले विद्यमान असमानता थप बढाउन नहुने बताए । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउँदै जोखिममा रहेका समुदायले प्रत्यक्ष लाभ पाउने गरी काम गर्नुपर्ने उनको जोड थियो ।
जलवायु परिवर्तनविरुद्धको अभियानमा सरकार, निजी क्षेत्र, स्थानीय तह, वैज्ञानिक, नागरिक समाज, युवा, आदिवासी समुदाय र महिलासहित सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए ।
पेरिस सम्झौतापछि विश्वको तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा माथिबाट घटेर अहिले करिब २.७ डिग्री सेल्सियसमा झरेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको चुनौती सामना गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता देशका पीडितहरूलाई हामीले हरेक दिन सम्झिनुपर्छ । जलवायु परिवर्तनविरुद्धको हाम्रो प्रयास सधैँ विज्ञानमा आधारित हुनुपर्छ र सबैभन्दा बढी जोखिममा रहेका तथा कमजोर समुदायलाई केन्द्रमा राख्नुपर्छ ।’
कोप–३१ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना भइरहेको छ । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन, अनुकूलन क्षमता अभिवृद्धि तथा जोखिममा रहेका समुदायको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ ।