काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलमै प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको र उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजित तिहार विशेष रैथाने मेलाको सोमबार अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज निर्माणका लागि आग्रह गर्ने सरकारले आफ्नै स्टलमा प्लास्टिकका झोला प्रयोग गर्नु उचित नभएको बताए ।
निजी क्षेत्रका व्यवसायीलाई उत्पादनमा एमआरपी अनिवार्य राख्न निर्देशन दिइरहेको सरकारले आफ्नै उत्पादनमा भने मूल्य स्पष्ट उल्लेख नगरेको उनको भनाइ थियो । उनले सरकारी स्टलमा प्लास्टिकका झोला प्रयोग नगर्न र उत्पादित वस्तुमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्न आग्रह गरे।
खाद्य संस्थानले आयोजना गरेको मेलामा करिब २६ वटा स्टल छन् । तिहारका लागि आवश्यक सामग्री खरिद गर्नेको मेलामा भीड लागेको छ । सभामुख अर्यालले पनि मेलाको अवलोकनसँगै आवश्यक सामग्री खरिद गरेका थिए ।