झापा । मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगरका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवको उद्धार गरेको छ ।
आश्रमले मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआली क्षेत्रबाट गएराति उनीहरूको उद्धार गरेको हो । उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा राखिएको आश्रमका अभिभावक समिति संयोजक नीलकण्ठ तिवारीले जानकारी दिए ।
उद्धार गरिएकामध्ये एक जना केही दिनअघि कैद अवधि पूरा गरी कारागारबाट मुक्त भएका व्यक्ति रहेको तिवारीले बताए । कारागारबाट छुटेपछि आश्रयविहीन भएर सडकमा बस्दै आएका उनलाई पनि उद्धार गरिएको उनले बताए ।
उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीले सहयोग गरेका थिए ।
बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल आफन्तविहीन एक सय जना सडक मानवले आश्रय लिइरहेका छन् ।