म्याग्दी । म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका विकट पहाडी तथा हिमाली भेगमा भेडाबाख्रा पालन गर्ने किसानका लागि भोटे कुकुर अभिन्न साथी बनेका छन्। घना जङ्गल, अग्ला पहाड र दुर्गम चरन क्षेत्रमा महिनौँसम्म गोठमा बिताउने गोठालाका लागि यी कुकुर पशुधनका रक्षक मात्र नभई भरपर्दा सहयोगीसमेत हुन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले आफ्नो गोठमा पाँच वटा भोटे कुकुर पालेका छन्। २० वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले ६०० भेडाबाख्राको सुरक्षाका लागि कुकुर पालेका हुन्।
उनका अनुसार विकट भूगोलमा पशुपालन गर्ने किसानका लागि कुकुर निकै उपयोगी छन्। सयौँको सङ्ख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सहयोग गर्दै आएका छन्।
धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक किसान आस्मान पुर्जाका अनुसार विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको सुरक्षाका लागि भोटे कुकुर पाल्नु रहरभन्दा बढी आवश्यकता हो। यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो बनावट भएका कम्तीमा दुई वटा कुकुर पाल्ने गरेका छन्।
भोटे कुकुरले जङ्गली जनावरको गतिविधि छिट्टै थाहा पाउने, गन्धका आधारमा जोखिम पहिचान गर्ने र गोठालालाई खतराको सङ्केत दिने क्षमता राख्छन्। पुर्जाका अनुसार यस्ता कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेका छन्।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजा सात दशकदेखि भेडापालनमा संलग्न छन्। उनको अनुभवमा कुकुरबिना सयौँ भेडाबाख्राको रेखदेख गर्न निकै कठिन हुन्छ। जङ्गली जनावरको चाल सुनेर तथा गन्ध सुँघेर पत्ता लगाउने कुकुरले गोठालाको दैनिकी सहज बनाउनुका साथै पशुधनको सुरक्षा गर्दै आएका छन्।
म्याग्दीका जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम रहने भएकाले भोटे कुकुर गोठका पहरेदारका रूपमा परिचालित हुन्छन्। साँझ, राति र बिहान गोठ वरपर निगरानी गर्ने उनीहरूले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन्। आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा पनि उनीहरूको महत्त्वपूर्ण भूमिका छ।
पाउद्वारका किसान टेकजित तिलिजाका अनुसार टाढा पुगेका भेडाबाख्रा फर्काउन तथा हराएका पशु खोज्नसमेत कुकुरले सहयोग गर्छन्। बथानलाई एकै ठाउँमा राख्न र पशु कहाँ पुगेका छन् भन्ने पत्ता लगाउन उनीहरू उपयोगी हुने गरेका छन्।
अर्का किसान मनिराम पाइजा पनि कुकुरबिनाको गोठालो जीवन कल्पना गर्न नसकिने बताउँछन्। पशु चराउन लैजाँदा बथानको पछिपछि लाग्ने कुकुरले भेडाबाख्रालाई अप्ठ्यारो भीरमा जानबाट रोक्ने, साँझ परेपछि गोठमा फर्काउने र जङ्गली जनावर देखेपछि भुकेर सूचना दिने गर्छन्। आक्रमणको प्रयास भएमा प्रतिकार गरेर जनावरलाई भगाउनसमेत उनीहरूले सहयोग गर्ने गरेका छन्।
गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेडाको दूध र मासु खुवाउने गरिन्छ। पशु चरनका लागि एउटा स्थानमा १० देखि १५ दिनसम्म गोठ राख्ने र त्यसपछि अर्को खर्कमा सार्ने परम्परा छ। गोठालासँगै लेकबेँसी गर्ने कुकुर पनि यही घुम्ती जीवनशैलीमा अभ्यस्त हुन्छन्।
बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुग्ने पशुगोठ चिसो बढेसँगै बेँसीतर्फ झर्न थालेका छन्। हिमाली क्षेत्रका पोषिला चरनस्थललाई बुकी र गाईवस्तुको गोठ राख्ने स्थानलाई खर्क भन्ने गरिन्छ। लेकमा घाँस खाएर मोटाएका पशु लिएर गोठाला आवश्यक बन्दोबस्तीका सामानसहित क्रमशः बेँसी झर्ने गर्छन्।
बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुबाट प्राप्त मलले जमिनको उर्वराशक्ति बढाउने परम्परा म्याग्दीमा अझै कायम छ।
धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङ तथा रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले परम्परागत घुम्ती गोठ प्रणालीमार्फत पशुपालन गर्दै आएका छन्। त्यस्तै अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसान पनि यसै पेसामा आबद्ध छन्।
आधुनिक जीवनशैली र वैदेशिक रोजगारीका अवसरसँगै परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा पर्दै गएको छ। यद्यपि, विकट पहाडी तथा हिमाली क्षेत्रमा भोटे कुकुर अझै गोठालाका भरपर्दा सारथि र पशुधनका रक्षक बनिरहेका छन्। पुस्तौँदेखि गोठालाको कठिन यात्रामा साथ दिँदै आएका यी बफादार जनावरले म्याग्दीको परम्परागत पशुपालन संस्कृति जोगाउनसमेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।