बाजुरा– उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै बाजुराका भेडापालक किसानहरू भेडाबाख्राको बथानसहित बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो सातातिर वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको र चरन क्षेत्रसमेत अभाव हुन थालेपछि किसानहरू मौसमी बसाइँसराइमा लागेका हुन्।
बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापा परिवारसहित बेँसी झरेका छन्। अत्यधिक चिसो बढेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित भेडाको बथान लिएर उनी बेँसीतर्फ लागेको बताए।
थापाका अनुसार उनी साँफे–मार्तडी सडकखण्ड हुँदै २०० भेडासहित अछामको गैल जान लागेका हुन्। गाउँमा चिसो बढ्नुका साथै हिमपात हुन थालेपछि भेडा चराउन समस्या भएकाले चैत–वैशाखसम्म उतै बस्ने उनको योजना छ।
हिउँदको चिसोबाट भेडाबाख्रालाई जोगाउन र चरनको सहज व्यवस्था गर्न किसानहरूले परम्परागत मौसमी बसाइँसराइ गर्दै आएका छन्। उच्च लेकाली क्षेत्रमा हिउँ परेपछि घाँस तथा चरनको अभाव हुने भएकाले उनीहरू भेडाको बथानसहित न्यानो क्षेत्रतर्फ झर्ने गर्छन्।
जिल्लाका उच्च हिमाली क्षेत्रका भेडापालक किसानहरू हिउँदमा चिसो छल्न बूढीगङ्गा, खप्तड छेडेदहलगायत स्थानीय क्षेत्र तथा छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा पुगेर बस्ने गरेका छन्। पुस्तौँदेखि चल्दै आएको यो मौसमी बसाइँसराइले बाजुराको परम्परागत पशुपालन र ग्रामीण जीवनशैलीलाई समेत प्रतिबिम्बित गर्छ।