काठमाडौँ– ऐश्वर्य, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरी आज (आइतबार) देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा गर्ने चलन छ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्रै लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यताअनुसार आज बिहानैदेखि घरआँगन सफा गरी लक्ष्मीको स्वागत गर्ने तयारी गरिन्छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार आज घरलाई सफा गरी गाईको गोबर र रातोमाटोले लिपपोत गर्ने तथा साँझ दीपावली गरेर लक्ष्मीलाई घरमा आमन्त्रण गर्ने परम्परा छ।
लक्ष्मीपूजाका अवसरमा घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थान सफा गरी दीप प्रज्ज्वलन गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ। कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये लक्ष्मीपूजाको रात पनि एक हो।
आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गरिने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरिन्छ। त्यसपछि चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाई घरभित्र प्रवेश गर्ने बाटो देखाउने चलन छ।
लक्ष्मीका पाइला बनाइएको बाटोमा केराको सुत्ला वा माटाका पालामा दीप प्रज्ज्वलन गरी घरलाई झिलीमिली बनाइन्छ। पछिल्लो समय माटाका दियोको सट्टा मैनबत्ती बाल्ने प्रचलन पनि बढेको छ। तर, दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् नेपालले बताए।
दीपावली गरेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी तथा कुबेरको स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा आराधना गरिन्छ।
लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने र दक्षिणा दिने परम्परा पनि छ। आजको दिन घरमा लक्ष्मीपूजा गरेपछि धनसम्पत्ति वा अन्य सामान बाहिर पठाउँदा लक्ष्मी पनि बाहिरिने धार्मिक विश्वास रहिआएको छ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार लक्ष्मीपूजा सन्ध्याकालमा गरिन्छ। मध्यरातमा घरका महिलाले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि छ।
आज साँझ युवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्ने परम्परा पनि छ। भगवान् विष्णुले यमपञ्चकका पाँच दिन स्वर्ग, मर्त्य र पाताल गरी तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको धार्मिक कथन छ। सोही वरदानअनुसार बलिराजाले सबैको कल्याण होस् भन्ने कामनासहित घरघरमा गीत गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको मान्यता छ। ‘भलो होस्’ भन्ने शब्द अपभ्रंश हुँदै ‘भैलो’ बनेको धर्मशास्त्रविद् गौतमले बताए।
भैलो खेल्न आउने समूहलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ। कात्तिक महिनामा दिइने दान भएकाले भैलो खेल्न आउनेलाई दान गर्दा पुण्य प्राप्त हुने र नदिँदा राम्रो नहुने धार्मिक विश्वाससमेत रहेको छ।
लक्ष्मीपूजाका अवसरमा आज सहर तथा बजारका घर, पसल र सार्वजनिक स्थानमा दीपावली गरी झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतिपय स्थानमा आजै बिहान गाईको पूजा गर्ने चलन पनि छ।
यद्यपि, शास्त्रीय मान्यताअनुसार औँसी समाप्त भई कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्रै गाईपूजा गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
यसअघि तिहारका अवसरमा आजैदेखि पर्व बिदा दिने गरिए पनि यस वर्ष लक्ष्मीपूजा आइतबारको नियमित सार्वजनिक बिदाकै दिन परेको छ। सोमबारदेखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म तिहार बिदा रहेको छ।