खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा तीन युवाले सामूहिक लगानीमा गरेको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ । तिहारलाई लक्षित गरी गरिएको फूलखेतीबाट यस वर्ष ३० देखि ३६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
फरक–फरक राजनीतिक दलमा आबद्ध तीन युवाले ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ दर्ता गरी करिब ४० रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलखेती गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका लेखबहादुर रम्तेल, बालकृष्ण कटवाल र वडा नं ४ खाल्लेका चन्द्र केसीको संयुक्त लगानीमा फार्म सञ्चालन गरिएको हो ।
तिहार नजिकिएसँगै बारीमा ढकमक्क फुलेका सयपत्री फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्याउने काममा सञ्चालकहरू व्यस्त छन् । यस वर्ष तिहारका लागि करिब १२ हजार माला तयार गरी बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक रम्तेलले जानकारी दिए ।
उनका अनुसार उत्पादित मालामध्ये नौ हजार काठमाडौं र तीन हजार खोटाङमै बिक्री गर्ने योजना छ । फूल टिप्ने तथा माला उन्ने काममा दैनिक २५ जना कामदार परिचालन गरिएको छ । माला उन्ने कामदारलाई प्रतिमाला सात रुपैयाँ पारिश्रमिक दिने गरिएको छ ।
एक जना कामदारले दैनिक १०० वटाभन्दा बढी माला तयार गर्न सक्ने भएकाले यसबाट उनीहरूले राम्रो आम्दानीसमेत गरिरहेका छन् । फार्मको फूलखेतीले स्थानीय महिलालाई मौसमी रोजगारीको अवसर प्रदान गरेको छ ।
सञ्चालक चन्द्र केसीका अनुसार फूल केही दिन काठमाडौंमा भण्डारण गरी तिहारको बजार सुरु भएपछि बिक्री गर्ने तयारी गरिएको छ । पहिलोपटक गरिएको फूलखेतीमै राम्रो उत्पादन भएपछि आगामी दिनमा यसलाई थप विस्तार गर्ने उत्साह बढेको उनले बताए ।
तीन युवाले यसअघि पनि बाम्राङमा सामूहिक लगानीमा अकबरे खुर्सानी खेती तथा व्यावसायिक भैँसीपालन गर्दै आएका छन् । तीन वर्षअघि सुरु गरिएको कृषि व्यवसायलाई विस्तार गर्दै यस वर्ष दूध उत्पादनका लागि २० वटा लैनो भैँसी पाल्ने योजना बनाइएको छ । त्यसका लागि १०० रोपनी जग्गा भाडामा लिएर घाँसखेतीसमेत गरिएको छ ।
फार्ममा दुई जना पूर्णकालीन कामदार कार्यरत छन् । उनीहरूलाई खाना तथा खाजासहित मासिक तलब उपलब्ध गराउने गरिएको छ । अन्य कामदारलाई कामको प्रकृतिअनुसार दैनिक ५०० देखि ८०० रुपैयाँसम्म ज्याला दिने गरिएको सञ्चालकले बताएका छन् ।
फार्ममा उत्पादित दूध तथा दूधबाट बनेका परिकार दिक्तेल बजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट तथा रैथाने खाजा घर’मा बिक्री हुँदै आएको छ । जिल्लामा उत्पादित कृषि उपज खरिद, प्रशोधन र बजारीकरण गर्दै आएको कम्पनीले स्थानीय उत्पादन काठमाडौंलगायत विभिन्न सहरमा पुर्याउने गरेको छ ।
राजनीतिमा सक्रिय व्यक्तिहरूका लागि आम्दानीको वैकल्पिक स्रोत आवश्यक रहेको निष्कर्षसहित सामूहिक लगानीमा कृषि व्यवसाय सुरु गरेको सञ्चालकहरूको भनाइ छ । राजनीतिक आस्थाका हिसाबले फरक दलमा आबद्ध तीन युवाले सहकार्य गरेर सञ्चालन गरेको यो कृषि फार्म स्थानीयस्तरमा व्यावसायिक कृषिको उदाहरण बनेको छ ।