काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमात्र बनाउन सक्यो ।
जनकपुरका लागि हरमीत सिंहले सर्वाधिक ३३ रन बनाए । आदित्य महता ३० रनमा अविजित रहे भने सैफ हसनले २८ र तृतराज दासले १८ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि डार्सी शर्टले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा रुबेन ट्रम्पलमनले एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४ रन बनाए । निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।
जनकपुरका राहुल यादव र विशाल सुश्लिङले दुई–दुई विकेट लिए भने हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।
यस जितसँगै चार खेलबाट तीन जित र एक खेल रद्द हुँदा सात अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत् रहेको छ । पाँच खेल खेलेको जनकपुर दुई जित र तीन हारसहित चार अंक जोडेर चौथो स्थानमा छ ।