नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो नाम जोडेर सार्वजनिक भएको इमन सापकोटाको अडियो प्रकरणबारे स्पष्टीकरण दिएका छन्। उनले कांग्रेसको आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा आफूले कुनै आर्थिक लेनदेन वा अनुचित काम नगरेको दाबी गर्दै अडियोमा उठेका विषयको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका हुन्।
सापकोटाको नाममा सार्वजनिक भएको अडियोमा आफ्नोबारे के कुरा गरिएको छ भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै थापाले अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने पनि स्पष्ट नभएको बताए। ‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा राजनीतिक कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन,’ उनले भने।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर यस प्रकरणबारे पार्टीको धारणा सार्वजनिक गरिसकेको भन्दै थापाले आफूले पनि केही विषयमा प्रत्यक्ष रूपमा स्पष्ट पार्न आवश्यक ठानेको बताए। शर्माले यस प्रकरणमा नियतवश हल्ला फैलाइएको भन्दै त्यसलाई पार्टीले पूर्ण रूपमा खारेज गर्ने र सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको बताएका थिए।
थापाले इमन सापकोटा अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा रहेकाले अडियोमा उठेका विषयको सत्यतथ्य अनुसन्धानबाट बाहिर आउनुपर्ने बताए। आफूहरूसँग जवाफ खोज्नुभन्दा अनुसन्धानको दायरामा रहेका व्यक्तिसँगै प्रश्न गर्नुपर्ने उनको भनाइ थियो। ‘अब प्रश्न हामीलाई सोध्ने होइन। प्रश्न जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने। फिक्सर इमन सापकोटा अहिले प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन्, त्यहाँ सोध्ने प्रश्न हो,’ उनले भने।
उनले अनुसन्धान निष्पक्ष हुनुपर्ने र अडियो प्रकरणमा को–को संलग्न छन् भन्ने विषय पनि खोतलिनुपर्ने बताए। यसमा सञ्चारमाध्यम र चासो राख्ने सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो। ‘जब राम्रोसँग अनुसन्धान हुन्छ, फेयर अनुसन्धान हुन्छ, दूधको दूध पानीको पानी मज्जाले छुटिन्छ। हामी त्यसकै प्रतीक्षामा छौँ,’ थापाले भने।
कांग्रेसको विशेष महाधिवेशनलाई थापाले भदौ २३ र २४ गतेको युवा विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनको पक्षमा गरिएको प्रयासका रूपमा व्याख्या गरे। नवयुवाले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आफूहरू अघि बढेको उनको भनाइ थियो। पार्टीका तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहमा आफूहरू पनि सहभागी भएको उल्लेख गर्दै उनले त्यसलाई आर्थिक लेनदेनसँग जोडेर हेर्न नहुने बताए।
‘नेपाली कांग्रेसको पार्टीको विशेष महाधिवेशन भनेको विद्रोह हो। भदौ २३ र २४ गते नवयुवाले विद्रोह गरे। त्यो विद्रोहको सम्मान गर्दै पार्टीभित्र चेन्ज चाहिन्छ भनेर हामीले कोसिस गर्यौँ। रेसिस्ट भयो। त्यसैले पार्टीका भुइँतहका कार्यकर्ताले गरेको विद्रोहमा हामीहरू मिसिएको हो,’ उनले भने।
अडियो सार्वजनिक भएपछि आफू र पार्टीका नेताहरू डराएर अन्य दलका नेताहरूसँग भेटघाट गर्न थालेको भन्ने चर्चाको पनि थापाले खण्डन गरे। आफूले राजनीतिक भेटघाटलाई स्वाभाविक जिम्मेवारीका रूपमा लिएको भन्दै रातारात लुकेर कुनै राजनीतिक छलफल गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेकाले आगामी पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था र अन्य राजनीतिक विषयमा दलहरूसँग संवाद गर्नुपर्ने भएकाले भेटघाट गरेको उनले स्पष्ट पारे। त्यसक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनले बताए। ‘सरकारका बारेमा लुकेर गर्नुपर्ने कुरा नै छैन। जे गर्ने हो खुला गर्ने हो,’ थापाले भने।
अडियो प्रकरणसँगै आफूहरूमाथि प्रश्न उठाउने काम रोक्न खोजिएको आशंका व्यक्त गर्दै उनले सरकारका गलत कामको विरोध र सही कामको समर्थन गर्ने आफ्नो राजनीतिक भूमिका यथावत् रहने बताए। वर्तमान सरकारले पाँच वर्षको म्यान्डेट पाएको भन्दै त्यसलाई सम्मान गर्ने तर सरकारले जनताको जीवनसँग जोडिएका विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
उनले प्राकृतिक विपत्तिबाट घरबारविहीन भएका नागरिकको पुनःस्थापना, सुकुम्बासीको व्यवस्थापन, रोजगारी सिर्जना र लगानीको वातावरण निर्माणलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए। देशको अर्थतन्त्र कमजोर हुँदै गएको र लगानीकर्तामा डरको वातावरण रहेको भन्दै त्यसलाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको उनले उल्लेख गरे।
तर लोकतान्त्रिक अधिकार खुम्च्याउने र राज्यका संस्थाहरूलाई कमजोर बनाउने काम भए कांग्रेसले त्यसको विरोध गर्ने उनले स्पष्ट पारे। ‘डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मुखदर्शक भएर बस्दैनौँ। बोल्छौँ, प्रश्न गर्छौँ, पर्यो भने प्रतिवाद गर्छौँ। किनकि त्यो हाम्रो ड्युटी हो,’ उनले भने।
थापाले आफूविरुद्ध विगतमा पनि विभिन्न प्रायोजित भाष्य निर्माण गरेर चरित्रमाथि प्रश्न उठाउने प्रयास भएको दाबी गरे। शक्तिशाली सत्ताका गलत कामविरुद्ध आवाज उठाउँदा आफूलाई कमजोर पार्ने उद्देश्यले यस्ता प्रचार हुने गरेको उनको भनाइ थियो। तर आफ्नो नैतिकता र इमानदारितामाथि विश्वास भएकै कारण आफूले निरन्तर प्रश्न उठाउँदै आएको उनले बताए।
‘म गगन थापा तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ, माइ ह्यान्ड्स आर क्लिन,’ उनले भने।
आफ्नो स्वच्छता र नैतिकतामा कुनै सम्झौता नगरेकाले आफूले सत्तासँग लड्ने र प्रश्न गर्ने साहस राखेको उनको दाबी थियो। विगतमा आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामको विरोध गर्न नछाडेको स्मरण गराउँदै उनले अहिले पनि गलत कामका विरुद्ध बोल्न नडराउने बताए।
अन्त्यमा थापाले आफू र आफ्नो नेतृत्वमाथि उठेका प्रश्नका कारण लोकतन्त्रमा प्रश्न गर्ने प्रवृत्ति नै कमजोर हुन नहुनेमा जोड दिए। व्यक्तिगत रूपमा आफूविरुद्ध प्रायोजित हल्ला फैलिएको भए पनि त्यसले सरकार र सत्तालाई प्रश्न गर्ने नागरिक तथा राजनीतिक दलको अधिकार प्रभावित हुन नहुने उनको भनाइ थियो।
‘यत्रो प्रायोजित हल्लाहरूका बीचमा राइट क्वेस्चन मर्नु हुँदैन। क्वेस्चन मर्यो भने डेमोक्रेसी सकिन्छ। डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ। आजको सबैभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौँ भन्ने हो,’ थापाले भने।