म्याग्दी– म्याग्दीमा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणबाट प्रभावित घरधनीलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले सुरुङ खन्ने क्रममा विस्फोटक पदार्थको कम्पनका कारण घर भत्किएका तथा चर्किएका प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रक्रिया सुरु गरेको हो ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झीको फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृहसम्म जोड्ने ६ किलोमिटर २७० मिटर लामो सुरुङ निर्माणका क्रममा आसपासका घरमा क्षति पुगेको थियो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार प्रभावित घरधनीलाई आवश्यक कागजातसहित आगामी मङ्सिर ४ गतेभित्र निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।
सुरुङ निर्माणका क्रममा पूर्ण तथा आंशिक क्षति पुगेका घर र अन्य प्रभावित घरधुरीको विवरण सङ्कलन, क्षतिको अभिलेखीकरण तथा आवश्यक प्रक्रिया अघि बढाउन निवेदन माग गरिएको उनले बताए । निवेदन सङ्कलनपछि क्षतिको मूल्याङ्कन गरी सरकारी मापदण्ड र कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति वितरण गरिने उनको भनाइ छ ।
आयोजनाले यसअघि सर्जसाफ्ट, प्रेसर साफ्ट र अडिट नम्बर ३ को सुरुङ आसपास कम्पनका कारण बस्न नमिल्ने अवस्थामा पुगेका करिब ३० घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार न्यूनतम एक लाख ७५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्म उपलब्ध गराएको थियो ।
प्रभावित लेखनाथ शर्माले आयोजना, जिल्ला प्रशासन र गाउँपालिकाले जिम्मेवारी लिन आनाकानी गर्दा क्षतिपूर्ति पाउन ढिलाइ भएको गुनासो गरे । जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिक सम्मिलित टोलीले स्थलगत निरीक्षण गरी सुरुङ प्रभावित क्षेत्रमा ३५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो ।
रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खीमबहादुर शाहीले स्थलगत अध्ययनमा संलग्न निकायका जिम्मेवार व्यक्तिले प्रतिवेदनको स्वामित्व नलिँदा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताए ।
भौतिक संरचना निर्माण सम्पन्न भइसकेको राहुघाट जलविद्युत् आयोजनाले गत असोज पहिलो सातादेखि परीक्षण उत्पादन सुरु गरेको छ । भारतीय आयात–निर्यात बैंक (एक्जिम बैंक) को ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो ।
आयोजना निर्माणका लागि विसं २०६६ मा भारतीय कम्पनी आइभिआरसिएलसँग ठेक्का सम्झौता भएको थियो । कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा उक्त ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी) ले विसं २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ निर्माण सुरु गरेको थियो ।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो ।