काठमाडौं । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा ठूलो सुख्खा पहिरो खस्ने क्रम जारी रहेको छ। चुमनुब्री गाउँपालिका–५ स्थित क्य्राकको बुम्राङमा मंगलबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झरिरहेको हो।
वडाध्यक्ष काल्देन छेवाङ लामाका अनुसार क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङस्थित साकिमा डाँडादेखि सेराङ खोलासम्म करिब तीन सय मिटर लामो पहिरो खसिरहेको छ।
मंगलबार बिहान करिब ११ बजे ठूलो आवाजसहित पहिरो खसेको थियो। पहिरो खस्दा आगो फुकेको जस्तो सेतो धुवाँ उड्ने गरेको स्थानीयले बताएका छन्। दिउँसो वडाध्यक्ष लामासहितको टोलीले घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिएको थियो।
तर, राति पुनः पहिरो खसेपछि जोखिम झन् बढेको छ। अहिले पनि निरन्तर पहिरो झरिरहेको र घटनास्थलसम्म पुग्नसमेत कठिन भइरहेको वडाध्यक्ष लामाले बताएका छन्।
पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब चार सय जनालाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री पुर्याउन समस्या हुने देखिएको छ। गुम्बामा करिब दुई सय लामा विद्यार्थी तथा गुरु र वृद्धाश्रममा रहेका थप दुई सय जना बस्दै आएका छन्।
पछिल्लो समय यस क्षेत्रमा सुख्खा पहिरो र हिमपहिरोका घटना बढ्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्। हिमाली क्षेत्रमा अस्वाभाविक रूपमा पहिरो खस्न थालेको भन्दै वडाध्यक्ष लामाले थप जोखिमको आशंका व्यक्त गरेका छन्।
यसअघि गत असोज २५ गते सेराङ हिमालको पूर्वी भागमा हिमपहिरो खस्दा उङ्गिलुङ खोला थुनिएको थियो। खोला थुनिएपछि बूढीगण्डकीमा विनाशकारी बाढी आएको थियो। पछिल्लो सुख्खा पहिरोले पनि थप विपद् निम्त्याउन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।