काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै दाहालले जनतालाई चिमोट्ने, भुत्त्याउने र आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति हाबी भएको बताए ।
यस्तो अवस्थामा विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो । मुलुकलाई सही दिशामा अघि बढाउन नेपाली कम्युनिष्ट पार्टी फेरि तयार रहेको उनले जिकिर गरे ।
विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै दाहालले विगतका कमजोरीको समीक्षा गर्नुपर्नेमा जोड दिए । आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उनले बताए ।
उनले भने, ‘हामी आफैँले भनेका छौँ, हामीले कहाँ कमीकमजोरी गर्यौँ । तर महसुस पनि त गरेका छौँ । तर हामी आफैँ यो कुरा भन्न डराइराख्या छौँ, बोल्न डराइराख्या छौँ । यस्तो हुनु भएन ।’
दाहालले आसन्न स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न पनि पार्टीपंक्तिलाई निर्देशन दिए ।