काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको छ ।
यो जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ । तीन खेल खेलेको लुम्बिनी पाँच अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।
पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए । निरोशन डिकवेलाले २७ रन बनाए ।
ओपनर आशिफ शेख सात रनमा आउट हुँदा अर्का ब्याटर १३ रन बनाएर पेभिलियन फर्किए । पोखराका लागि बिपिन खत्रीले एक विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, माहेदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन जोडे ।
पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए ।