दार्चुला । दार्चुलाको अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ आजदेखि सुरु हुँदैछ। अपिहिमाल गाउँपालिका–१ स्थित पिल्कन्दमा रहेको अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिएको छ।
अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र विशाल पाटन यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन्। यी सम्पदाको प्रवर्द्धन गरी अपिहिमाललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र स्थानीयको आयआर्जन तथा रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले महोत्सव मनोरञ्जन र सांस्कृतिक कार्यक्रममै सीमित नभई अपिहिमालको पहिचान बाहिरी संसारसम्म पुर्याउने अभियान भएको बताए। पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने र युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाइ छ।
तीन दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता, योग तथा ध्यान र जलवायु परिवर्तनसम्बन्धी संवाद आयोजना गरिनेछन्। महोत्सवमा सहभागी हुने पर्यटकका लागि आवास, सूचना, स्वास्थ्य र सुरक्षाको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
महोत्सवले स्थानीय उत्पादनको बजार विस्तारमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। पर्यटकको आगमन बढ्दा होमस्टे, होटल, कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्यमले बजार पाउने स्थानीय उद्यमी तथा व्यवसायीको विश्वास छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यसअघि वार्षिक पाँच हजारभन्दा बढी पर्यटक आउने गरेको विवरणका आधारमा पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको हो। तर महोत्सवका तीन दिनमा पर्यटकको चहलपहल बढाएर मात्र यो लक्ष्य हासिल नहुने भएकाले वर्षभरि पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार, आवास, सूचना तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने चुनौती छ।