काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग रहेका व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनसम्बन्धी विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण गर्ने भएको छ ।
निर्वाचन आयोग र विभागबीच भएको समझदारीअनुसार विभागले आफ्नो सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विवरणको उपयोग गरी मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरणको काम अघि बढाइनेछ ।
मतदाता नामावली अद्यावधिक प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुवै निकायबीच यही कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्रमा तथ्याङ्कको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गर्ने, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, समझदारी कार्यान्वयनका क्रममा देखिने प्राविधिक समस्या समाधान गर्न दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ ।
यस सहकार्यबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोगमार्फत मतदाता नामावली अद्यावधिक र प्रमाणीकरण कार्य थप विश्वसनीय, व्यवस्थित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।