काठमाडौँ । पत्रकार पक्राउ तथा विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले धरपकड गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ ।
शुक्रबार काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा आकस्मिक बैठक बसेको थियो । बैठकपछि विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयासप्रति असन्तुष्टि व्यक्त गरेको हो ।
काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको जनाएको छ । त्यस्तै, सम्बन्धित विषयमा अपराधसम्बन्धी जाहेरी परेको वा नपरेको भन्नेबारे समेत स्पष्ट नभएको काउन्सिलको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएका घटनाक्रमले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको काउन्सिलले उल्लेख गरेको छ ।