काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाटै पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासंघले पत्रकारलाई कार्यस्थलबाटै नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई ‘राज्य आतंक’ को संज्ञा दिएका छन् ।
उनले पछिल्लो घटनाक्रमले राज्य आतंक सुरु भएको आभास गराएको भन्दै यस्तो कार्य नेपालको संविधान, प्रेस स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताए ।
‘हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी पुगेर पत्रकारलाई नियन्त्रणमा लिनु संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो’, दाहालले भने, ‘यस्तो कार्य तत्काल रोक्नुपर्छ । राज्य आतंक नरोकिए यसविरुद्ध आन्दोलनमा उत्रनुको विकल्प छैन ।’
शुक्रबार प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ ।
त्यस्तै, नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि शुक्रबार प्रहरी पुगेको छ । अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै सादा पोसाकमा रहेका पाँच जना प्रहरी नयाँ पत्रिकाको कार्यालय पुगेका थिए ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरीले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यालय पुगेको जनाएको छ ।
यसैगरी, मोटिभेट न्युजमा कार्यरत पत्रकार शोभराज बराललाई पनि प्रहरीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको छ ।
एकै दिन विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि प्रहरीले गरेको कारबाहीप्रति पत्रकार महासंघले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।